हृदयाघात हो कि होइन, अलमल गर्दा जान्छ ज्यान

आयुष महर्जन

आयुष महर्जन

02 Sep 2025
213 Views
हृदयाघात हो कि होइन, अलमल गर्दा जान्छ ज्यान

पहिलो पटक इन्डोनेसियाको पर्यटकीय सहर बाली पुगें । पुगेकै बेलुकी कार्यक्रम थियो । बस्ने पनि त्यहीँ व्यवस्था गरिएको थियो । समुद्री किनारको पर्यटकीय स्थल हेर्दै मनमोहक थियो । बेलुकी समुद्री तटमा खुब हिँडियो ।

दुईदिने एउटा कार्यक्रममा सहभागी हुन म बाली पुगेको थिएँ । ‘हृदयाघात हुँदा तुरुन्तै एन्जियोप्लास्टी’ का बारेमा आ–आफ्नो अनुभव, नयाँ उपलब्धि, समस्या समाधानका उपायबारे त्यहाँ छलफल थियो । कार्यक्रममा एसियाबाट जापान, सिंगापुरदेखि बंगलादेश र नेपालसम्मका प्रतिनिधि जम्मा भएका थियौं । कोरिया, थाइल्यान्ड, चीन र मलेसियाबाट पनि प्रतिनिधिहरू आएका थिए ।

एसियामा यस्तो कार्यक्रम हुनु पक्कै पनि खुसीको कुरा थियो । धेरैजसो चिकित्सा क्षेत्रको वस्तुस्थितिको तथ्यांक, उपलब्धि, चुनौती आदि पश्चिमा देशको मात्र पढ्ने र छलफल गर्ने गरिन्छ । तर, कहिलेकाहीँ उताका सबै कुरा हाम्रो पूर्वीय समाजमा ठ्याक्कै मिल्दैनन् । वंशाणु, हावापानी, रहनसहन, शारीरिक बनावट, खानपान धेरै कुराले शारीरिक समस्यामा पनि उल्लेखनीय असर पारेको हुन्छ । तसर्थ, हाम्रै पूर्वीय समाजको मात्र छलफल गर्नु अति आवश्यक छ । एक जना इन्डोनेसियाका वरिष्ठ मुटुरोग विशेषज्ञले बाली, जकार्ताभन्दा टाढाको अस्पतालमा एन्जियोप्लास्टी गर्दाको अनुभव सुनाए । जुन ज्यादै महत्त्वपूर्ण पनि लाग्यो ।

एक जना ६० वर्ष नाघेका पुरुष छातीको पीडा भएर प्राथमिक स्वास्थ्य केन्द्र पुगेका रहेछन् । जाँचपडतालपछि मुटुको समस्या भएको शंका गरेर माथिल्लो अस्पतालमा पठाइयो । अर्को अस्पतालमा हृदयाघातको पक्का गरेपछि केही आवश्यक उपचार गरेर हृदयाघातको विशेष उपचार हुन सक्ने अस्पताल भनी उनी कार्यरत अस्पतालमा पठाइएको रहेछ । उनलाई छातीको पीडा सुरु भएको १२ घण्टाभन्दा धेरै भइसकेको थियो । तैपनि, तुरुन्तै एन्जियोग्राम गरेर हेरे, मुटुलाई रक्तसञ्चार गर्ने एउटा धमनी पूरै बन्द थियो । एन्जियोप्लास्टी गरेर खोलिदिए । राम्रो भयो । यही छातीको पीडा पश्चिमा राष्ट्रमा भए केही घण्टामै उपचार सम्भव हुन सक्थ्यो । जापान, सिंगापुरमा पनि छिट्टै सम्भव छ । हाम्रोमा भने ज्यादै ढिलो हुन्छ ।

उनका कुरा सुन्दै गर्दा म सम्झिँदै थिएँ– हाम्रा अस्पतालमा आउने हृदयाघातका बिरामी पनि त समय लगाएरै आउँछन् । भौगोलिक बनावट, बाटोघाटोको असुविधा, प्राथमिक स्वास्थ्य केन्द्र एवं अस्पतालको सुविधाको स्तर आदि इत्यादि सबै कारणले ढिलो उपचार भइरहेको छ । त्यसमाथि अझै छातीको पीडा हृदयाघातले होला र भन्ने शंका–उपशंकामा अलमल र जनचेतनाको अभाव पनि छ । त्यसका साथसाथै हृदयरोगबारेको जागरणले पछिल्लो समय हाम्रा अस्पतालमा आइपुग्नेको संख्या पनि उल्लेखनीय रूपमा बढ्नुका साथै छिट्टै ल्याइपुर्‍याउन पनि थालिएको छ । उपचार निकै राम्रो हुँदै गएको छ । मैले पनि त्यहाँ आफ्नो अनुभव सुनाएँ, केही प्रश्नका साथ सुझाव पनि दिएँ ।