हृदयाघात हो कि होइन, अलमल गर्दा जान्छ ज्यान
पहिलो पटक इन्डोनेसियाको पर्यटकीय सहर बाली पुगें । पुगेकै बेलुकी कार्यक्रम थियो । बस्ने पनि त्यहीँ व्यवस्था गरिएको थियो । समुद्री किनारको पर्यटकीय स्थल हेर्दै मनमोहक थियो । बेलुकी समुद्री तटमा खुब हिँडियो ।
दुईदिने एउटा कार्यक्रममा सहभागी हुन म बाली पुगेको थिएँ । ‘हृदयाघात हुँदा तुरुन्तै एन्जियोप्लास्टी’ का बारेमा आ–आफ्नो अनुभव, नयाँ उपलब्धि, समस्या समाधानका उपायबारे त्यहाँ छलफल थियो । कार्यक्रममा एसियाबाट जापान, सिंगापुरदेखि बंगलादेश र नेपालसम्मका प्रतिनिधि जम्मा भएका थियौं । कोरिया, थाइल्यान्ड, चीन र मलेसियाबाट पनि प्रतिनिधिहरू आएका थिए ।
एसियामा यस्तो कार्यक्रम हुनु पक्कै पनि खुसीको कुरा थियो । धेरैजसो चिकित्सा क्षेत्रको वस्तुस्थितिको तथ्यांक, उपलब्धि, चुनौती आदि पश्चिमा देशको मात्र पढ्ने र छलफल गर्ने गरिन्छ । तर, कहिलेकाहीँ उताका सबै कुरा हाम्रो पूर्वीय समाजमा ठ्याक्कै मिल्दैनन् । वंशाणु, हावापानी, रहनसहन, शारीरिक बनावट, खानपान धेरै कुराले शारीरिक समस्यामा पनि उल्लेखनीय असर पारेको हुन्छ । तसर्थ, हाम्रै पूर्वीय समाजको मात्र छलफल गर्नु अति आवश्यक छ । एक जना इन्डोनेसियाका वरिष्ठ मुटुरोग विशेषज्ञले बाली, जकार्ताभन्दा टाढाको अस्पतालमा एन्जियोप्लास्टी गर्दाको अनुभव सुनाए । जुन ज्यादै महत्त्वपूर्ण पनि लाग्यो ।
एक जना ६० वर्ष नाघेका पुरुष छातीको पीडा भएर प्राथमिक स्वास्थ्य केन्द्र पुगेका रहेछन् । जाँचपडतालपछि मुटुको समस्या भएको शंका गरेर माथिल्लो अस्पतालमा पठाइयो । अर्को अस्पतालमा हृदयाघातको पक्का गरेपछि केही आवश्यक उपचार गरेर हृदयाघातको विशेष उपचार हुन सक्ने अस्पताल भनी उनी कार्यरत अस्पतालमा पठाइएको रहेछ । उनलाई छातीको पीडा सुरु भएको १२ घण्टाभन्दा धेरै भइसकेको थियो । तैपनि, तुरुन्तै एन्जियोग्राम गरेर हेरे, मुटुलाई रक्तसञ्चार गर्ने एउटा धमनी पूरै बन्द थियो । एन्जियोप्लास्टी गरेर खोलिदिए । राम्रो भयो । यही छातीको पीडा पश्चिमा राष्ट्रमा भए केही घण्टामै उपचार सम्भव हुन सक्थ्यो । जापान, सिंगापुरमा पनि छिट्टै सम्भव छ । हाम्रोमा भने ज्यादै ढिलो हुन्छ ।
उनका कुरा सुन्दै गर्दा म सम्झिँदै थिएँ– हाम्रा अस्पतालमा आउने हृदयाघातका बिरामी पनि त समय लगाएरै आउँछन् । भौगोलिक बनावट, बाटोघाटोको असुविधा, प्राथमिक स्वास्थ्य केन्द्र एवं अस्पतालको सुविधाको स्तर आदि इत्यादि सबै कारणले ढिलो उपचार भइरहेको छ । त्यसमाथि अझै छातीको पीडा हृदयाघातले होला र भन्ने शंका–उपशंकामा अलमल र जनचेतनाको अभाव पनि छ । त्यसका साथसाथै हृदयरोगबारेको जागरणले पछिल्लो समय हाम्रा अस्पतालमा आइपुग्नेको संख्या पनि उल्लेखनीय रूपमा बढ्नुका साथै छिट्टै ल्याइपुर्याउन पनि थालिएको छ । उपचार निकै राम्रो हुँदै गएको छ । मैले पनि त्यहाँ आफ्नो अनुभव सुनाएँ, केही प्रश्नका साथ सुझाव पनि दिएँ ।
ताजा समाचार