भूकम्पमा प्रभावित भएकामध्ये पाकिस्तानबाट जबरजस्ती निकालिएकाहरु पनि परेको अफगानी मिडियाको दाबी

आयुष महर्जन

आयुष महर्जन

02 Sep 2025
226 Views
भूकम्पमा प्रभावित भएकामध्ये पाकिस्तानबाट जबरजस्ती निकालिएकाहरु पनि परेको अफगानी मिडियाको दाबी

काठमाडौँ — अफगानिस्तानका सञ्चार माध्यमका अनुसार कुनार प्रान्तमा सोमबार आएको भूकम्पबाट प्रभावितमध्ये केही हालै पाकिस्तानबाट जबरजस्ती निकालिएकाहरु पनि छन् ।

कुनार प्रान्तको स्थानीय मिडिया आउटलेट टोलो न्यूजका अनुसार पाकिस्तानले आफ्नो देशबाट निकालिएका अफगानीहरु पनि उक्त भूकम्पबाट प्रभावित बनेका हुन् ।

संयुक्त राष्ट्र संघका अनुसार बिना कागजात आउने अफगानी शरणार्थीलाई पाकिस्तानले आफ्नो देशबाट लखेट्ने कारबाही तीव्र बनाएको थियो । गत मार्चमा ह्यूमन राइट्स वाचले पाकिस्तानी अधिकारीहरुद्वारा अफगानी शरणार्थीलाई जबरजस्ती फिर्ता जान दबाब बनाएको दाबी गरेको थियो ।

तालिबानीको उत्पीडन र आर्थिक संकटका बीच भागेर पाकिस्तान आएका उनीहरुलाई जबरजस्ती फिर्ता पठाउनु उनीहरुको ज्यानमाथि खतरा रहेको राष्ट्र संघको दाबी छ ।

यूएनको शरणार्थी एजेन्सीका अनुसार ३५ लाखभन्दा धेरै अफगानिस्तानी शरणार्थीका रुपमा पाकिस्तानमा बसिरहेका छन् । पाकिस्तानले दशकौंसम्म चलेको युद्धका क्रममा अफगानी शरणार्थीलाई आफ्नो देशमा बस्न दिएको थियो । तर अब राष्ट्रिय सुरक्षामा जोखिम भएको भन्दै जबरजस्ती फिर्ता पठाइरहेको छ । साथै सार्वजनिक सेवाहरुमा पनि अफगानी शरणार्थीलाई कडाइ गरिएको छ ।